काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र संरचनागत सुधारका लागि नीतिगत आत्मविश्वास, स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताएका छन्।
बुधबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा उनले निजी क्षेत्रले सहुलियतभन्दा पनि स्थिर नीति, छिटो निर्णय र विश्वसनीय कार्यान्वयनको अपेक्षा गरिरहेको उल्लेख गर्दै सरकार र नियामक निकाय एउटै लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
अर्थमन्त्री वाग्लेले विगत दशकमा नीतिगत निर्णयहरू भए पनि कार्यान्वयन कमजोर हुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै त्यसको गम्भीर समीक्षा गर्नुपर्ने बताए।
छलफलका क्रममा उनले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउने, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, रोजगारी र उत्पादनसँग जोड्ने तथा पुँजी बजार र वास्तविक अर्थतन्त्रबीच सन्तुलित सम्बन्ध विकास गर्ने विषयमा राष्ट्र बैंकसँग सुझाव मागेका थिए।
उनले डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण तथा नयाँ वित्तीय उपकरणलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको पनि बताए।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्र किन क्रमशः रक्षात्मक बन्दै गयो, बैंकमा पर्याप्त तरलता हुँदाहुँदै पनि उद्योगमा कर्जा किन पुग्न सकेन, उत्पादन र उत्पादकत्वले अपेक्षित गति किन लिन सकेन भन्ने विषयमा आत्मसमीक्षा गर्नुपर्ने धारणा राखे।
उनले राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई आर्थिक रूपान्तरणको सहयात्री र सह–निर्माता को भूमिकामा अघि बढ्न आग्रह गर्दै चालु आर्थिक वर्षको बजेटलाई आर्थिक सुधार र संरचनागत रूपान्तरणको मार्गचित्रका रूपमा कार्यान्वयन गर्न मौद्रिक नीतिले पनि समान गति लिनुपर्ने बताए।
छलफलबाट प्राप्त सुझावलाई कार्ययोजनामा रूपान्तरण गरिने र आवश्यक परे सरकार तथा राष्ट्र बैंकबीच नीतिगत समन्वयका लागि संयुक्त कार्यदल गठन गर्ने प्रतिबद्धता पनि अर्थमन्त्री वाग्लेले व्यक्त गरेका छन्।