काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग भएको छलफलमा उनले लगानी, उत्पादन र आर्थिक विश्वास पुनःस्थापनाका लागि सरकार र बैंकिङ क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रसँग निरन्तर संवाद गर्ने सरकारको नीति अनुरूप बैंकिङ क्षेत्रसँग पनि अनुभव र सुझाव आदानप्रदान गर्न बैठक आयोजना गरिएको बताए। उत्पादन, लगानी, बचत तथा वित्तीय प्रणालीको मुख्य आधार बैंकहरू भएकाले अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञानबारे बैंकिङ क्षेत्रको अनुभव उपयोगी हुने उनको भनाइ थियो। सरकारले बजेटमार्फत आर्थिक सुधारका लागि आवश्यक नीतिगत दिशा तय गरिसकेको उल्लेख गर्दै उनले अब त्यसको प्रभावकारी कार्यान्वयनमा सरकार केन्द्रित रहेको बताए। अर्थतन्त्रमा देखिएका चुनौती समाधानका लागि बैंकिङ क्षेत्रबाट आउने सुझावलाई प्राथमिकताका साथ ग्रहण गरिने उनले स्पष्ट पारे।
उनका अनुसार सरकार, निजी क्षेत्र र बैंकिङ क्षेत्रको साझा उद्देश्य लगानी बढाउने, उत्पादन विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने तथा निजी क्षेत्रको आत्मविश्वास बलियो बनाउने हो। यसका लागि नियामकीय, कानुनी र संस्थागत सुधारलाई सरकारले निरन्तर अघि बढाइरहेको भन्दै थप सुधार आवश्यक भए स्पष्ट सुझाव दिन उनले बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई आग्रह गरे। छलफलमा व्यवसायीहरू लगानी विस्तार गर्न किन हिच्किचाइरहेका छन्, ब्याजदर न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैन र बैंकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादनशील क्षेत्रमा किन परिचालन हुन नसकेको भन्ने विषयमा समेत विचार–विमर्श भएको थियो।
अर्थमन्त्रीले यी समस्याको समाधान मौद्रिक नीति, वित्तीय नीति वा निजी क्षेत्रको आत्मविश्वासमध्ये कुन पक्षसँग बढी सम्बन्धित छ भन्ने विषयमा खुला छलफल गर्न आग्रह गरेका थिए। उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन आवश्यक संरचनागत सुधार, मौद्रिक नीति, नियमन तथा सुपरिवेक्षणमा अपनाउनुपर्ने उपाय र अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि सुझाव संकलन गरिएको थियो। बैठक केवल समस्या पहिचानमा सीमित नरहने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले कार्यान्वयनयोग्य निष्कर्ष, स्पष्ट समयसीमा र जिम्मेवारीसहित अघि बढ्ने सरकारको लक्ष्य रहेको बताए। आवश्यक परे कानुनी, नीतिगत तथा प्रक्रियागत सुधार गर्न सरकार तयार रहेको उनको भनाइ थियो। सरकारले विश्वासमा आधारित, निर्णयक्षम र दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले बैंकिङ क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख साझेदारका रूपमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। साथै, छलफलबाट प्राप्त सुझावलाई कार्यान्वयनको स्पष्ट रोडम्यापमा रूपान्तरण गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।