काठमाडौँ । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको पकड थप मजबुत बनेको छ। भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ।
योसँगै देशको कुल निर्यात व्यापारमा भटमासको तेलको योगदान मात्रै करिब ४० प्रतिशत पुगेको छ, जसले यसलाई नेपालको प्रमुख निर्यातजन्य वस्तुका रूपमा स्थापित गराएको छ।
तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालबाट कुल ५ लाख ९३ हजार ८ सय २३ मेट्रिक टन भटमासको तेल निर्यात भएको छ। नेपालमा प्रशोधन गरिएको यो तेलको मुख्य बजार छिमेकी मुलुक भारत नै रहँदै आएको छ।
उद्योगीहरूले तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी स्वदेशमै प्रशोधन गरेर पुनः निर्यात गर्ने गरेका छन्। आयातित कच्चा पदार्थमा आधारित भए पनि यस व्यवसायले मुलुकको कुल निर्यात बढाउन र विदेशी मुद्रा आर्जनमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ।
नेपालबाट हुने भटमास तेलको निर्यातमा विगतका आर्थिक वर्षहरूमा ठुलो उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०७५/७६ मा जम्मा २ अर्ब ३४ करोड रुपैयाँको निर्यात भएकोमा, आर्थिक वर्ष २०७७÷७८ मा यो ह्वात्तै बढेर ५३ अर्ब ६५ करोड रुपैयाँ पुगेको थियो।
त्यसपछिका वर्षहरूमा भारतको भन्सार तथा आयात नीतिमा आएको परिवर्तनका कारण निर्यातमा केही मन्दी आएको भए पनि पछिल्लो समयमा भने उल्लेख्य सुधार आएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।