काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा कमी आएको छ।
यस दिन नेप्से परिसूचक ४.६४ अंकले ओरालो लाग्दै २ हजार ६९६.६७ विन्दुमा बन्द भएको हो। कारोबार रकम पनि घटेको छ। सोमबार ५ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँमा सीमित भएको छ। नेप्सेका अनुसार आज ३४२ कम्पनीका १ करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयर किनबेच भएका छन्। कारोबारमा सहभागी कम्पनीमध्ये ९८ वटाको सेयर मूल्य बढ्दा १६६ वटाको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ। मूल्य वृद्धितर्फ एभरेस्ट कलरको सेयर सबैभन्दा बढी १५ प्रतिशतले बढेर प्रतिकित्ता ८६१ रुपैयाँ पुगेको छ। त्यसपछि लक्ष्मी उन्नति कोषको इकाइ मूल्य ९.१० प्रतिशतले बढ्दै १० रुपैयाँ ९१ पैसा कायम भएको छ। यता, मूल्य घट्ने कम्पनीमध्ये कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर ६.०७ प्रतिशतले घटेर प्रतिकित्ता ९६० रुपैयाँमा झरेको छ।
सिद्धार्थ इक्विटी फण्डको इकाइ मूल्य पनि ५.८७ प्रतिशतले घट्दै ९ रुपैयाँ ७९ पैसामा कायम भएको छ। कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो। कम्पनीको २७ करोड १४ लाख रुपैयाँ बराबरको सेयर प्रतिकित्ता ६५४ रुपैयाँ २० पैसामा कारोबार भएको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा ०.८८ प्रतिशतले कम हो। त्यसैगरी, रिडी पावर दोस्रो बढी कारोबार हुने कम्पनी बनेको छ। यसको २१ करोड २१ लाख रुपैयाँ बराबरको सेयर प्रतिकित्ता ३७२ रुपैयाँमा किनबेच भएको छ। समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ समूहमध्ये ४ समूहमा वृद्धि भएको छ भने बाँकी ९ समूहको परिसूचक घटेको नेप्सेले जनाएको छ।