वीरगञ्ज । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन् ।
अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोपमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन् ।
नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालका करिब ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् ।
बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उनले बताए ।