काठमाडौँ । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घटेको हो।
महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि चालु वर्षको माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो। त्यसयता बजारमा मूल्यमा उतारचढाव देखिँदै आएको छ। यस्तै, चाँदीको मूल्य पनि शुक्रबार घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको चाँदीको मूल्य १५५ रुपैयाँले घटेर ४ हजार ३५० रुपैयाँकायम भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ।