काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लामो समयदेखि नचलाएर निष्क्रिय भएका खाता अब अनलाइन या बैंकका जुनसुकै शाखाबाट पनि बन्द गर्न पाइने भएको छ। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ।
यसअघि खाता बन्द गर्न ग्राहक खाता खुलेकै शाखामा जानुपर्ने र अनलाइनमार्फत गर्न नसक्ने व्यवस्था छ। यसले ग्राहकलाई अप्ठ्यारो परेको भन्दै राष्ट्र बैंकले खाता बन्दको प्रक्रियालाई सरल बनाउन भनेको हो।
‘नेपालभरका जुनसुकै शाखा कार्यालय वा मोबाइल/वेब एपमार्फतसमेत बैंक तथा वित्तीय संस्थामा रहेका खाता सम्बन्धित संस्थाका ग्राहकले सहज रूपमा बन्द गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘यसरी ग्राहकले उपस्थित भई वा मोबाइल/वेब एपमार्फत ग्राहकले खाता बन्द गर्न अनुरोध गरेको खण्डमा उक्त खातामा रहेको मौज्दात निजले अनुरोध गरेको अन्य बैंक तथा वित्तीय संस्थामा रहेको निजको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्नेछ।’
बैंक तथा वित्तीय संस्थाले आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाई आउँदो पुससम्म लागू गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।