काठमाडौँ । नेपाली सेयर बजारमा लगातार ठुलो गिरावट आएपछि आक्रोशित बनेका आम सेयर लगानीकर्ताहरू नियामक निकाय नेपाल धितोपत्र बोर्डको कार्यालय घेराउ गर्न पुगेका छन्।
मंगलबार बिहानैदेखि विभिन्न लगानीकर्ता संघ–संगठन र सर्वसाधारण लगानीकर्ताहरू ललितपुरको खुमलटारस्थित बोर्डको केन्द्रीय कार्यालयमा भेला भई बजारको निरन्तर ओरालो यात्राप्रति गम्भीर असन्तुष्टि र आक्रोश पोखेका हुन्।
बोर्डको कार्यालय घेराउ गर्दै लगानीकर्ताहरूले पुँजीबजारमा देखिएको चौतर्फी निराशा र निरन्तरको गिरावट रोक्न नियामक निकायले तत्काल ठोस र प्रभावकारी भूमिका खेल्नुपर्ने माग गरेका छन्। उनीहरूले बजारमा देखिएका नीतिगत र प्राविधिक समस्याहरूको तत्काल स्थायी समाधानका लागि पहल गर्नपर्ने, धराशायी बन्दै गएको बजारमा आम लगानीकर्ताको खस्किएको मनोबल बढाउनका लागि तत्काल खुकुलो र लगानीमैत्री नीतिगत निर्णयहरू सार्वजनिक गर्न माग गरेका छन् । उनीहरुले बजारलाई अस्वाभाविक रूपमा प्रभावित पार्ने तत्त्वहरूमाथि कडा निगरानी र नियमन गर्नपर्ने माग गरेका छन् ।
सेयर बजारमा पछिल्ला केही दिनदेखि लगातार बिक्री चाप बढेर सूचकहरू ओरालो लागिरहेका छन्। साताको दोस्रो दिन सोमबार मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.६० अंकको भारी गिरावट सँगै २५७०.१८ विन्दुमा झरेर बन्द भएको थियो।
सोमबारको सोही नकारात्मक प्रभाव मंगलबार पनि बजारमा स्पष्ट देखिएको छ। मंगलबार कारोबार सुरु भएदेखि नै नेप्से परिसूचक लगातार ओरालो लागिरहेपछि थप त्रसित बनेका लगानीकर्ताहरू उचित हस्तक्षेपको माग गर्दै धितोपत्र बोर्डको शरणमा पुगेका हुन्।