काठमाडौँ । बजेट पुनर्लेखनलगायतका माग राख्दै विपक्षी दलहरूले निरन्तर प्रदेश सभा बैठक अवरुद्ध गरेपछि समस्या समाधानका लागि मधेश प्रदेश सभामा सर्वदलीय कार्यदल गठन गरिएको छ।
आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख रामअशिष यादवले सात सदस्यीय कार्यदल गठन गरिएको जानकारी दिएका हुन्। कार्यदलमा जसपाका उपेन्द्र महतो, हरिन्द्र नारायण महतो, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, बिमला अन्सारी, सरिता कुमारी ठाकुर र जंगीलाल राय सदस्य रहेका छन्। सभामुख यादवका अनुसार कार्यदलले आफ्नो कार्यविधि आफैं तय गर्नेछ। कार्यदलले आइतबारदेखि नै जिम्मेवारी सम्हाल्नेछ भने यसको पहिलो बैठक सोमबार बिहान बस्ने तय गरिएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएयता विपक्षी दलहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै पुनर्लेखनको मागसहित प्रदेश सभा बैठक लगातार अवरुद्ध गर्दै आएका छन्। नवनिर्मित कार्यदलले असन्तुष्ट दलहरूसँग छलफल र समन्वय गरी बजेटमा उठाइएका विवाद तथा त्रुटिबारे सहमतिमूलक समाधान खोज्ने प्रयास गर्ने जनाइएको छ। यसैबीच, मधेश प्रदेश सभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।