काठमाडौँ । पूर्वी चीनको सुजाउ सहरमा कमल खेती स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको छ। कृषि, पर्यटन र स्थानीय व्यापारलाई एकैसाथ जोड्दै कमल खेतीले किसानको आम्दानी बढाउनुका साथै पर्यटक आकर्षित गर्ने प्रमुख माध्यमको रूपमा पनि विकास हुँदै गएको छ।
गर्मी मौसममा फुल्ने कमलका फूल किसानहरूले बिहानै टिपेर बजारमा बिक्रीका लागि पु¥याउने गर्छन्। विशेषगरी अन्य कृषि गतिविधि कम हुने समयमा कमल खेतीले स्थानीय परिवारलाई थप आम्दानीको अवसर उपलब्ध गराएको छ। ७४ वर्षीय किसान शेङ वेइछ्वानका अनुसार केही वर्षअघि करिब ०.७ हेक्टर क्षेत्रफलको कमल पोखरीबाट वार्षिक ३ हजारदेखि ४ हजार ५ सय अमेरिकी डलरसम्म आम्दानी हुनु राम्रो मानिन्थ्यो। अहिले भने उचित व्यवस्थापन गर्न सके सोही क्षेत्रबाट ६ हजारदेखि ७ हजार अमेरिकी डलर वा त्यसभन्दा बढी आम्दानी गर्न सकिने अवस्था बनेको छ।
स्थानीय किसान लिन सियाओवानले कमलका फूल बिक्रीबाट दैनिक १५० देखि ३०० अमेरिकी डलरसम्म आम्दानी हुने बताइन्। उत्पादन खर्च कटाएपछि पनि दैनिक १०० देखि १३० अमेरिकी डलरसम्म बचत हुने उनको भनाइ छ। कमल खेतीले खेतीपातीमा मात्र सीमित नरही पर्यटन व्यवसायलाई पनि टेवा पुर्याएको छ। पर्यटकहरूले कमलले ढाकिएका पोखरीमा डुंगा सयर गर्नुका साथै कमलबाट तयार गरिएका परिकार, पेय पदार्थ, हस्तकलाका सामग्री र स्मरणिका खरिद गर्ने गरेका छन्।
नान्जिङबाट सुजाउ पुगेकी एक पर्यटकले कमल संस्कृतिको अनुभव लिन आएको बताउँदै करिब ७ अमेरिकी डलरमा कमलको फूलको गुच्छा र १० अमेरिकी डलरमा दुईवटा पेय पदार्थ खरिद गरेको जानकारी दिइन्। उनका अनुसार कमलले भरिएको प्राकृतिक वातावरण गर्मीयाममा निकै मनमोहक र ताजगीपूर्ण अनुभव प्रदान गर्ने गरेको छ। स्थानीय तथ्यांकअनुसार कमल बजारबाट मात्रै दैनिक करिब ६० हजार अमेरिकी डलर बराबरको कारोबार हुने गरेको छ। सेप्टेम्बरसम्म सञ्चालन हुने यो मौसमी बजारले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा चलायमान बनाइरहेको छ।