काठमाडौं । त्रिवि शिक्षण अस्पतालले सोमबारदेखि स्वास्थ्य बीमा सेवा फेरि सुरु गर्न लागेको छ ।
अस्पतालले माघ १ गतेदेखि स्थगित गरेको स्वास्थ्य बीमा सेवा करिब ६ महिनापछि सोमबारदेखि फेरि सुरु गर्न लागेको हो ।
अस्पतालका अनुसार सोमबारदेखि स्वास्थ्य बिमा सेवा आंशिक रूपमा सुरु हुनेछ । अस्पतालले बीमाको ओपीडी टिकट वितरण बिहान ७ देखि ११ बजे र दिउँसो १ देखि २ : ३० बजेसम्म बीमा टिकट काउन्टरबाट हुने समेत बताएको छ।
यसअघि गत २२ पुसमा सूचना जारी गर्दै १ माघदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित भएको थियो। त्यसवेला अस्पतालले बक्यौता रकम ४० करोड रुपैयाँ भएको र दाबी भुक्तानीमा समेत ५० प्रतिशतलाई मात्रै स्वीकार गर्ने परिपाटी रहेको भन्दै सेवा स्थगित गरेको थियो।
पछिल्लो पटक स्वास्थ्य बिमा बोर्डले रकम भुक्तानीमा समेत तिव्रता दिएको कारण सेवालाई आंशिक रूपमा अस्पतालले फेरि सुरु गर्न लागेको हो । केही दिन अघि स्वास्थ्य बिमा बोर्डले एकैपटक ३६४ वटा स्वास्थ्य संस्थालाई दुई अर्ब दाबी भुक्तानी गरेको थियो, जसमा वीर र शिक्षण अस्पतालले सबैभन्दा बढी भुक्तानी पाएका थिए। शिक्षण अस्पतालले ४ करोड ४ लाख ४ हजार १९४ रुपैयाँ प्राप्त गरेको थियो।