काठमाडौँ । मधेस प्रदेशका १३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरूले सात महिनादेखि पारिश्रमिक र अन्य सेवा–सुविधा नपाएको भन्दै आन्दोलन सुरु गरेका छन्।
आफ्ना मागहरूको सुनुवाइ नभएको भन्दै कर्मचारीहरूले जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कार्यालयअगाडि धर्ना, र्याली तथा प्रदर्शन गरेका हुन्। आन्दोलनरत कर्मचारीहरूका अनुसार आर्थिक वर्ष २०८२र८३ को कात्तिक महिनादेखि हालसम्मको तलब तथा चाडपर्व खर्च उपलब्ध गराइएको छैन। प्रयोगशालाकर्मी अनिल महतोले आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत कर्मचारीहरूको म्याद थप र सेवा सम्झौता नवीकरण प्रक्रिया टुंगो नलागेकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताए।
संयुक्त संघर्ष समितिका संयोजक साहिद राइनले सम्बन्धित निकायलाई पटक–पटक लिखित र मौखिक रूपमा जानकारी गराए पनि कुनै ठोस पहल नभएको गुनासो गरे। कर्मचारीहरूले मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश जनस्वास्थ्य प्रयोगशालासमक्ष रोकिएको तलब भुक्तानी, सेवा सम्झौता नवीकरण, पोशाक भत्ता, जोखिम भत्ता र महँगी भत्ता उपलब्ध गराउन माग गरेका छन्। उनीहरूले आफ्ना माग तत्काल सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी समेत दिएका छन्।