काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल ले सार्वजनिक बिदाको दिन आइतबार पनि नियमित रूपमा स्वास्थ्य सेवा सञ्चालन गरिरहेको जनाएको छ। नेपालको पहिलो आँखा अस्पतालका रूपमा परिचित अस्पतालले आइतबारदेखि शुक्रबारसम्म बिरामीलाई नियमित उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएको जनाएको हो।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँका अनुसार प्रत्येक दिन बिहान ८ः३० बजेदेखि बिरामी दर्ता सुरु हुने तथा दिउँसो ३ बजेसम्म विशेषज्ञ चिकित्सकमार्फत जाँच र उपचार सेवा उपलब्ध गराइने व्यवस्था रहेको छ। अस्पतालले आधुनिक प्रविधि, अत्याधुनिक उपकरण तथा अनुभवी चिकित्सक, अप्टोमेट्रिस्ट, नर्सिङ र प्राविधिक जनशक्तिको सहयोगमा गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ। हाल अस्पतालमा १६ जना नेत्ररोग विशेषज्ञ, एक जना एनेस्थेसियोलोजिस्ट, सात जना अप्टोमेट्रिस्ट, तीन जना फेलोसहित करिब १५० जना जनशक्ति कार्यरत छन्।
दैनिक रूपमा ७०० देखि ९०० जना बिरामीले सेवा लिने गरेका छन्। अस्पतालमा मोतिबिन्दु, रेटिना, जलविन्दु, कर्निया तथा बाल नेत्ररोगसम्बन्धी उपचार र शल्यक्रिया नियमित रूपमा सञ्चालन हुँदै आएको छ। साथै बहिरङ्ग सेवा, विशेषज्ञ परामर्श, मोतिबिन्दु क्लिनिक, बाल आँखा सेवा तथा अर्थोप्टिक्स सेवासमेत उपलब्ध छन्। त्यसैगरी, २४ सै घण्टा आकस्मिक तथा अन्तरङ्ग सेवा सञ्चालनमा रहेकाले आपत्कालीन अवस्थामा पनि बिरामीले निरन्तर उपचार सुविधा प्राप्त गर्न सक्ने अस्पतालले जनाएको छ।