काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा सम्बन्धी ऐन संशोधन गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँगको छलफलमा उनले स्वास्थ्य बीमा सुधारका लागि नीतिगत तथा कानुनी सुधार आवश्यक रहेको उल्लेख गर्दै ऐन संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
उनले साउन १ गतेदेखि यस विषयमा आवश्यक तयारी थालिने र मन्त्रिपरिषद्मार्फत ऐन संशोधनको प्रक्रिया अगाडि बढाउनेबारे सोचिरहेको जानकारी दिए । सचिव देवकोटाले सरकारले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राखेको दाबी गर्दै आगामी आर्थिक वर्षका लागि यस क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको बताए । उनका अनुसार विगतका वर्षहरूमा स्वास्थ्य बीमाका लागि करिब साढे सात अर्ब रुपैयाँ बजेट छुट्याइने गरिएकोमा आगामी वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । बजेट दोब्बर हुनु भनेको सरकारले स्वास्थ्य बीमालाई विशेष प्राथमिकतामा राखेको संकेत हो, उनले भने । देवकोटाले आगामी तीन वर्षभित्र देशभरका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने लक्ष्यसहित सरकार अघि बढिरहेको पनि बताए । उनका अनुसार स्वास्थ्य सेवा पहुँच विस्तार र स्वास्थ्य बीमा प्रणालीलाई थप प्रभावकारी बनाउने दिशामा मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ ।