काठमाडौँ। रौतहटको चन्द्रपुर अस्पताल प्रालिमा चिकित्सा विज्ञानमै अत्यन्तै कम देखिने एक अनौठो घटना भएको छ । यहाँ एक सुत्केरी महिलाले एम्नियोटिक थैली (गर्भभित्र बच्चा रहने पानीको झिल्ली) नफुटीकनै, शिशु पूर्ण रूपमा सोही थैलीभित्र सुरक्षित अवस्थामा जन्माएकी छन् । यस्तो अवस्थालाई चिकित्सकीय भाषामा ‘एन काउल बर्थ’ भनिन्छ । अस्पतालका प्रमुख डा. सुवास चौधरीका अनुसार यो घटना अत्यन्तै दुर्लभ मानिन्छ, जुन विश्वभर करिब ८० हजार प्रसवमध्ये एक पटक मात्र देखिन सक्ने तथ्याङ्कहरूमा उल्लेख छ ।
सामान्य प्रसव प्रक्रियामा बच्चा जन्मिने क्रममा गर्भभित्रको पानीको थैली आफैं फुट्ने गर्छ, जसलाई आम भाषामा ‘पानी फुट्नु’ वा ‘पानी बग्नु’ भनिन्छ । तर ‘एन काउल बर्थ’ मा भने उक्त झिल्ली नफुटी शिशु त्यही पानीसहितको थैलीभित्रै बाहिर निस्कन्छ । जन्मिँदा बच्चा पारदर्शी झिल्लीभित्र सुरक्षित रूपमा देखिन्छ, जसमा ऊ पानीभित्रै भएको जस्तो अवस्था देखिन्छ र हलचल गरिरहेको समेत देख्न सकिन्छ । जन्मपश्चात चिकित्सकहरूले सावधानीपूर्वक उक्त झिल्ली हटाएर शिशुको श्वासप्रश्वास प्रक्रिया सुरु गराउँछन् । स्थानीय तथा विश्वका विभिन्न समाजमा यस्ता शिशुलाई भाग्यशाली वा विशेष मानिने परम्परागत विश्वास पनि रहेको पाइन्छ ।
डा. चौधरीले यस घटनालाई अस्पतालका लागि महत्वपूर्ण उपलब्धि भन्दै भने, “एन काउल बर्थ निकै संवेदनशील र दुर्लभ अवस्था हो । हाम्रो दक्ष टोली र आवश्यक उपकरणको सहयोगमा आमा र बच्चा दुवैलाई सुरक्षित राख्न सफल भयौँ ।” उनका अनुसार अहिले आमा र नवजात शिशु दुवै पूर्ण रूपमा स्वस्थ छन् । यो सफल प्रसवपछि अस्पतालमा स्वास्थ्यकर्मी तथा परिवारजनमा खुशीको माहोल बनेको छ । साथै, रौतहटस्थित चन्द्रपुर अस्पतालले जटिल प्रसूति अवस्था सफलतापूर्वक व्यवस्थापन गर्न सक्ने क्षमता देखाएको भन्दै स्थानीय स्तरमा सकारात्मक चर्चा भएको छ ।