काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जको ओपीडी सेवालाई प्रविधिमैत्री र बिरामीमैत्री बनाउन ठूलो सहयोग गरेको छ। महानगरले अस्पताललाई १ करोड ७० लाख १६ हजार ६७० रुपियाँ बराबरका अत्याधुनिक प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको हो। बिहीबार अस्पतालमा आयोजित एक औपचारिक कार्यक्रमका बीच काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिक्षण अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यलाई उक्त सामग्रीहरू हस्तान्तरण गरेकी हुन ।
महानगरपालिकाले सार्वजनिक खरिद प्रक्रियामार्फत खरिद गरी अस्पताललाई १६ वटा इन्ट¥याक्टिभ किओक्स मेसिन, ६५ वटा अल इन वन डेक्सटप, सर्भर र ¥यामको क्षमता वृद्धि लगायतका उपकरण वितरण गरिएको महानगरले जनाएको छ । उपकरण हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले सरकारी अस्पतालमा उपचारका लागि नागरिकले भोग्दै आएको सास्ती कम गर्न महानगरले अग्रसरता लिएको बनताएकी छन् ।
“बिरामी र बिरामीका आफन्तहरू त्यत्तिकै पनि पीडामा हुनुहुन्छ। उहाँहरूलाई उपचारका क्रममा थप झन्झट र सकस नहोस्। पैसा तिर्न र ओपीडीको टिकट काट्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थालाई प्रविधिको प्रयोगबाट सुधार गर्न सम्भव छ, र यसैका लागि हामीले सहयोग गरेका हौँ,“ कार्यवाहक प्रमुख डंगोलले बताईन् ।
उनले महानगरपालिका अब सहर सफा गर्ने अड्डामा मात्र सीमित नरहेर स्वास्थ्य, शिक्षा र नागरिकका हरेक आवश्यकतामा संवेदनशील स्थानीय सरकारका रूपमा काम गरिरहेको बताइन् ।
कार्यक्रममा अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यले महानगरबाट प्राप्त सहयोगले बिरामी सेवा व्यवस्थापनमा ठूलो रूपान्तरण ल्याउने विश्वास व्यक्त गरेका छन् । पहिलो चरणको यो सहयोगले सेवामा सुधार आइसकेको बताउँदै डा. आचार्यले भने, “दोस्रो चरणमा पनि सहयोग हुने हाम्रो अपेक्षा छ। त्यसपछि अस्पतालबाट प्रदान गरिने क्यान्सर उपचारका अधिकांश सेवालाई पूर्ण रूपमा ‘पेपरलेस’ (कागजरहित) र ‘फेसलेस’ (भौतिक उपस्थिति विनाको डिजिटल) बनाउन सकिन्छ।“
त्यस्तै, अस्पतालका उपनिर्देशकद्वय प्रा. डा. पवनराज चालिसे र प्रा. डा. गोपाल सेढाईंले महानगरको नियमित सहयोगप्रतिको आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथको अपेक्षा राखेको बताए ।
