धनगढी । माया मेट्रो अस्पतालको यूरो विभागले मृगौला उपचार सुधारका लागि सिएमई कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार धनगढीस्थित पौवा होटेलमा करिब एक सयभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहभागितामा “आपतकालीन रक्त शुद्धीकरणदेखि दीर्घकालीन उपचारसम्म” भन्ने मुख्य नारासहित कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा प्रा. डा. पवन राज चालिसे, प्रा. डा. महेश बहादुर अधिकारी, डा. सुमित आचार्य, डा. सुमित कर्ण, डा. रोजन अधिकारी र डा. रवि किरण गौतमले मृगौला तथा मूत्ररोगसम्बन्धी आधुनिक उपचार पद्धति, रक्त शुद्धीकरण व्यवस्थापन तथा मृगौला प्रत्यारोपणसम्बन्धी विषयमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा माया मेट्रो अस्पतालका मृगौला तथा मूत्ररोग विशेषज्ञ डा। सुमित कर्णले धमनी–शिरा स्थायी नली जडानसम्बन्धी आफ्नो अनुभव प्रस्तुत गरेका थिए भने डा। सुमित आचार्यले “रक्त शुद्धीकरण र मृगौला प्रत्यारोपणबीचको छनोट—कहिले र किन ?” भन्ने विषयमा आफ्नो धारणा राखेका थिए।
यसैगरी, डा रोजन अधिकारीले नेपालमा मृगौला प्रत्यारोपणको वर्तमान अवस्था र उपलब्धिबारे जानकारी दिएका थिए भने डा। रवि किरण गौतमले प्रत्यारोपण सेवा सञ्चालनका चुनौती र सम्भावनाबारे प्रकाश पारेका थिए।
कार्यक्रममा प्रा. डा. पवन राज चालिसे र प्रा. डा. महेश बहादुर अधिकारीले “के सुदूरपश्चिममा मृगौला प्रत्यारोपण सेवा विकास गर्न सकिन्छर ?” भन्ने विषयमा महत्वपूर्ण धारणा व्यक्त गरेका थिए।
मृगौला फेल भएपछि शरीरमा रहेका विषाक्त पदार्थ हटाउन तथा तरल सन्तुलन कायम गर्न रक्त शुद्धीकरण प्रक्रिया आवश्यक पर्छ। जब मृगौलाले आफ्नो कार्यक्षमताको करिब ८५ देखि ९० प्रतिशतसम्म गुमाउँछ, त्यसपछि यस्तो उपचार अनिवार्य हुन्छ। यसका लागि स्थायी नली जडान गर्नुपर्ने हुन्छ।
माया मेट्रो अस्पतालले विगत ६ महिनादेखि आर्थिक अभाव भएका बिरामीहरूलाई लक्षित गरी निःशुल्क स्थायी नली जडान सेवा सञ्चालन गर्दै आएको छ। अस्पतालका यूरोलोष्टि डा. कर्णका अनुसार हालसम्म ६० भन्दा बढी बिरामीले यस सेवाबाट लाभ लिइसकेका छन्।
यस कार्यक्रमले सुदूरपश्चिम क्षेत्रमा मृगौला रोग उपचार सेवा सुदृढ बनाउने, चिकित्सकहरूबीच ज्ञान आदान–प्रदान बढाउने तथा दीर्घकालीन रूपमा प्रत्यारोपण सेवा विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ।सरकारले मृगौला रोगीहरूका लागि निःशुल्क डायलाइसिस सेवा उपलब्ध गराउँदै आएको छ।
तर सुदूरपश्चिम प्रदेशमा भने यो सेवा सीमित रूपमा मात्रै सञ्चालनमा रहेको छ। हालसम्म धनगढीस्थित सेती प्रादेशिक अस्पताल र नवजीवन अस्पतालमा मात्रै डायलाइसिस सेवा नियमित रूपमा सञ्चालनमा छ ।