काठमाडौँ । घरबारविहीन भएका सुकुमवासीहरूमा स्वास्थ्य समस्या देखिन थालेको छ। काठमाडौँ उपत्यकामा अतिक्रमित तथा अवैध संरचना हटाइएपछि होल्डिङ सेन्टरमा राखिएका नागरिकमा मनोवैज्ञानिक तनाव र अन्य स्वास्थ्य समस्या देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन भइरहेको विशेष स्वास्थ्य शिविरमा हालसम्म २५० जनाभन्दा बढीको परीक्षण गरिएको छ। शिविरमा वीर अस्पताल, कान्ति बाल अस्पताल, पाटन मानसिक अस्पताल, प्रसूति गृह र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकहरूको टोलीले सेवा दिइरहेको छ।
चिकित्सकका अनुसार धेरैजसोमा मनोसामाजिक परामर्शको आवश्यकता देखिएको छ भने केहीमा मधुमेह, दमलगायत दीर्घरोग पनि भेटिएको छ। केही गर्भवती महिलाको समेत पहिचान भएको जनाइएको छ। मनोवैज्ञानिक तनावलाई ध्यानमा राख्दै पाटन मानसिक अस्पतालको टोलीले परामर्श सेवा प्रदान गरिरहेको छ। आवश्यक परे केही बिरामीलाई अस्पतालमा रिफर गरिएको पनि स्वास्थ्यकर्मीले जनाएका छन्। सरकारले विस्थापित परिवारलाई विभिन्न होल्डिङ सेन्टरमा राख्दै दीर्घकालीन व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेको छ।