काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ घटाइएको जानकारी दिएको छ ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ४६ ले बढाइएको उल्लेख छ ।
समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः पहिलो वर्गमा २१४.५०, दोस्रो वर्गमा २१६ र तेस्रो वर्गमा २१७ रुपैयाँ कायम गरिएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा २२२.५० दोस्रो वर्गमा २२४ र तेस्रो वर्गमा २२५ पुगेको छ ।
