काठमाडौँ। भारतको सिक्किम राज्य स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा आयोजित स्वर्ण जयन्ती समापन समारोहमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गान्तोक पुगेका छन्।
दुई दिने भ्रमणका क्रममा उनले देउरालीदेखि लोकभवनसम्म आयोजित ऐतिहासिक रोड शोमा सहभागिता जनाउँदै सडक किनारमा उपस्थित हजारौँ सिक्किमवासीलाई हात हल्लाएर अभिवादन गरेका छन्। मंगलबार प्रधानमन्त्री मोदीले गान्तोकस्थित अर्किडेरियमको भ्रमण गर्दै त्यहाँको समृद्ध जैविक विविधता र पुष्प सम्पदाको अवलोकन गरेका छन्। उक्त भ्रमणका क्रममा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेम सिंह तामाङ पनि उपस्थित थिए।
भ्रमणको पहिलो दिन सोमबार उनले पद्म पुरस्कार विजेता तथा विभिन्न क्षेत्रमा योगदान दिएका प्रतिष्ठित व्यक्तिहरूसँग भेटवार्ता गरेका थिए। मंगलबार गान्तोकको पाल्जोर रंगशालामा आयोजित सिक्किम राज्य स्थापना दिवसको समापन समारोहमा पनि प्रधानमन्त्री मोदी सहभागी भइरहेका छन्। सो अवसरमा उनले ४ हजार करोड रुपैयाँभन्दा बढी लागतका विभिन्न विकास परियोजनाको उद्घाटन र शिलान्यास गर्ने कार्यक्रम रहेको छ। नेपालका पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरसँग सिमाना जोडिएको सिक्किममा नेपाली भाषी समुदायको उल्लेख्य बसोबास रहेको छ। प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा उनी स्थानीय लाप्चा पोशाकमा सजिएको पनि देखिएको छ।