काठमाडौँ । पाकेको मेवाभन्दा काँचो मेवा बढी स्वास्थ्यवर्द्धक मानिने भएकाले यसको सेवनले शरीरलाई विभिन्न फाइदा पुग्ने बताइएको छ। आयुर्वेदमा समेत काँचो मेवालाई औषधीय गुणयुक्त फलका रूपमा लिइन्छ।
काँचो मेवामा फाइबर, भिटामिन सी, क्यारोटिनोइड्स र प्राकृतिक इन्जाइम ‘पपेन’ प्रशस्त मात्रामा पाइने भएकाले यसले पाचन प्रणालीलाई सुधार गर्न मद्दत गर्छ। विशेषगरी खाना पचाउन कठिनाइ हुने वा पेटमा भारीपन महसुस हुने अवस्थाका लागि यो उपयोगी मानिन्छ। यसले तौल नियन्त्रणमा पनि सहयोग गर्ने बताइएको छ। कम क्यालोरी र उच्च फाइबरका कारण लामो समय पेट भरिएको महसुस गराउने भएकाले अत्यधिक खाने बानी घटाउन मद्दत पुग्ने उल्लेख छ।
त्यस्तै, काँचो मेवाले शरीरमा हुने सुन्निने समस्या कम गर्न, विषाक्त पदार्थ बाहिर निकाल्न र रगत शुद्ध बनाउन सहयोग गर्ने विश्वास गरिन्छ। महिलामा हुने हर्मोन असन्तुलनमा समेत काँचो मेवा उपयोगी हुन सक्ने बताइए पनि यसको सेवन गर्दा सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ। विशेषगरी गर्भवती महिलाले डाक्टरको सल्लाह बिना सेवन नगर्नु उपयुक्त हुने भनिएको छ। काँचो मेवालाई सलाद, सुप वा उमालेर पकाएर सेवन गर्न सकिने भए पनि काँचो अवस्थामा अत्यधिक सेवन नगर्न विज्ञहरूले सुझाव दिएका छन्।
मेवा खानुका फाइदाहरूः
- पाचन
- मोटोपन
- शरीर सुन्निएमा
- रगतको शुद्धीकरण
- महिला