काठमाडौँ । कञ्चनपुरमा सञ्चालन गरिएको भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियानअन्तर्गत ७० हजारभन्दा बढी बालबालिकालाई औषधि खुवाइएको छ।
स्वास्थ्य कार्यालय कञ्चनपुर का अनुसार वैशाख ६ र ७ गते सञ्चालन गरिएको दुई दिने अभियानमा कुल ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको हो। त्यसमध्ये ३७ हजार ३८२ बालबालिकालाई भिटामिन ‘ए’ र ३२ हजार ८९५ बालबालिकालाई जुकाको औषधि खुवाइएको स्वास्थ्य कार्यालयले जनाएको छ। अभियान सफल बनाउन जिल्लाका सबै पालिकामा ८१७ महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मी परिचालन गरिएको थियो।
अभियानका क्रममा छुटेका बालबालिकालाई आउँदो शुक्रबारसम्म नजिकैको स्वास्थ्य संस्थामार्फत औषधि उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। कुनै पनि बालबालिका छुट्न नदिन विशेष सतर्कता अपनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि तथा ६ देखि २३ महिनासम्मका बालबालिकालाई ‘बालभिटा’ वितरण गरिएको थियो। साथै बालबालिकाको पोषण अवस्था मूल्याङ्कनका लागि पाखुराको नापसमेत लिइएको छ। नेपालमा सरकारले सन् १९९३ देखि भिटामिन ‘ए’ र सन् २००१ देखि जुकाको औषधि खुवाउने कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ। यो अभियान वर्षमा दुई पटक सञ्चालन हुँदै आएको छ, जसले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउन, रतन्धो रोक्न र कुपोषण न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।