काठमाडौँ । बाजुराको कोल्टीबाटै अब नागरिकता वितरण सेवा सुरु गरिएको छ। इलाका प्रशासन कार्यालय कोल्टी सञ्चालनमा आएसँगै कुन्ना क्षेत्रका स्थानीयले नागरिकता बनाउन सदरमुकाम मार्तडी धाउनुपर्ने अवस्था अन्त्य भएको छ।
दुर्गम क्षेत्रका नागरिकलाई सहज सेवा दिनका लागि बुढीनन्दा नगरपालिका, कोल्टीमा प्रशासनिक सेवा विस्तार गरिएको हो। यससँगै नागरिकता वितरणसहित अन्य आवश्यक प्रशासनिक काम पनि स्थानीयस्तरमै हुन थालेका छन्। यसअघि माथिल्लो क्षेत्रका बासिन्दा नागरिकता लगायतका कामका लागि करिब १५ हजार रुपैयाँसम्म खर्च गरेर मार्तडी पुग्न बाध्य थिए। विशेष गरी वर्षायाममा आवतजावत झन् कठिन हुने गरेको थियो, तर अब त्यो समस्या हटेको छ।
नयाँ वर्षको अवसर पारेर वैशाख १ गते गृह मन्त्रालय का प्रशासन महाशाखा प्रमुख कालीप्रसाद पराजुलीले उक्त कार्यालयको औपचारिक उद्घाटन गरेका थिए। सोही स्थानमा मालपोत र नापी कार्यालय पनि सञ्चालनमा ल्याइएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार अब स्थानीय स्तरमै नियमित सेवा प्रवाह हुँदा नागरिकता, राष्ट्रिय परिचयपत्र दर्ता लगायतका काममा नागरिकलाई धेरै सहज हुने भएको छ। यसले दुर्गम क्षेत्रका बासिन्दाले सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गरेको छ।