काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। गत चैत २९ गते बिहान ग्यास सिलिन्डर लिक भई ठालुप्रसाद जैसीको घरमा आगलागी हुँदा तीन जना घाइते भएका थिए।
घाइतेमध्ये माया जैशीको काठमाडौंस्थित कीर्तिपुर जलन अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एक्कबहादुर नेपालीले जानकारी दिएका छन्।आगलागीमा घाइते भएका अन्य दुई जना रुपा जैशी र गणेश गौतमको काठमाडौंमै उपचार भइरहेको छ। उनीहरूलाई सुरुमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगन्ज लगिएको थियो भने त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको हो।