काठमाडौँ । मुगुको दुर्गम क्षेत्रमा भीरको बाटोमै सुत्केरी भएकी एक महिलाको आमा र नवजात शिशु दुवैको ज्यान समयमै गरिएको उद्धारले जोगिएको छ। मुगुम कार्मारोङ गाउँपालिका–८ की ३० वर्षीया साग्बु लामा सोमबार साँझ घर फर्किने क्रममा च्याप्नेगाड क्षेत्रमा एक्लै रहेको अवस्थामा प्रसूति पीडा बढेपछि त्यही भीरको जोखिमपूर्ण बाटोमै उनले बच्चा जन्माएकी हुन्।
कठिन अवस्थाबारे उनले फोनमार्फत जानकारी दिएपछि स्थानीय, स्वास्थ्यकर्मी र प्रहरीको टोली तत्काल उद्धारमा खटिएको थियो। करिब एक घण्टापछि उनीहरूलाई सुरक्षित रूपमा प्रसूति केन्द्र पुर्याइएको हो। नवजात शिशुको अवस्था गम्भीर देखिएपछि पछि जिल्ला अस्पताल रिफर गरिएको थियो। जिपको व्यवस्था गरी चार घण्टाको दूरी पार गर्दै आमा र शिशुलाई अस्पताल पुर्याइएको हो। हाल शिशुको आइसीयूमा उपचार भइरहेको छ भने आमाको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन्। यो घटनाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचको चुनौती र समयमै उद्धारको महत्व उजागर गरेको छ।