काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सोमबार आयल निगम आसपास क्षेत्रमा प्रदर्शन गरेको छ।
मूल्यवृद्धिको विरोधमा बबरमहलस्थित आयल निगममा धर्ना दिन पुगेका अभियानका सदस्यहरूलाई प्रहरीले त्यहाँ बस्न नदिएपछि उनीहरूले निगम नजिकै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले निगममा धर्ना दिनुका साथै ज्ञापनपत्र बुझाउने प्रयास गरेका थिए। तर आवश्यक समन्वय नभएको भन्दै प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको जनाइएको छ।
प्रहरीले परिसर बाहिर निकालेपछि सहभागीहरूले ‘प्रहरी दमन मुर्दाबाद’ र ‘पेट्रोलियम मूल्यवृद्धि फिर्ता गर’ जस्ता नारा लगाउँदै विरोध जनाएका थिए।प्रदर्शनमा सहभागीहरूले छिमेकी देशहरूमा पेट्रोलियमको मूल्य स्थिर रहँदा नेपालमा भने अत्यधिक वृद्धि गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनीहरूले मूल्य नघटाएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन्।