काठमाडौँ। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती नदीमा १७ वटा घडियाल गोहीका गुँड भेटिएका छन्। निकुञ्जले गत चैत १ गतेदेखि गुँड खोज्ने अभियान सुरु गरेको थियो र सोही क्रममा ती गुँड फेला परेका हुन्।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बोटे समुदायका दुई जनाको सहयोगमा गुँड खोज्ने काम गरिएको थियो। हरेक वर्ष चैत महिनामा गुँड पहिचान गर्ने र वैशाखमा अण्डा सङ्कलन गर्ने गरिन्छ। उनका अनुसार यस वर्ष अण्डा सङ्कलन कार्य वैशाख १० गतेबाट सुरु गरिने तयारी गरिएको छ। गुँडहरू पहिचान गरिसकेपछि कुन गुँडबाट अण्डा निकाल्ने भन्ने विषयमा छलफल गरी सङ्कलन गरिने उनले बताए। सङ्कलन गरिएका अण्डा निकुञ्जको गोही प्रजनन केन्द्रमा लगेर कोरल्ने प्रक्रिया अघि बढाइन्छ। त्यहाँबाट चल्ला निस्किएपछि केही समय हुर्काएर पुनः नदीमा छोड्ने गरिन्छ। अघिल्ला वर्षहरूमा राप्ती र नारायणी दुवै नदीमा गुँड खोजिने गरिए पनि यस वर्ष भने राप्ती नदीमै केन्द्रित भएर खोजी गरिएको निकुञ्जले जनाएको छ।