काठमाडौँ । आईसीटी फाउन्डेसनले ५० भन्दा बढी स्टार्टअपहरूलाई इन्क्युबेसन, मेन्टरशिप र लगानीसम्मको सहयोग दिएको जनाएको छ।
फाउन्डेसनका अनुसार, नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएका कार्यक्रममार्फत प्रारम्भिक चरणका स्टार्टअपहरूलाई आवश्यक ठाउँ, प्राविधिक सहयोग, व्यवसाय सम्बन्धी तालिम र नेटवर्किङको अवसर प्रदान गरिएको छ। त्यस्तै, अनुभवी उद्यमी र विज्ञहरूसँग प्रत्यक्ष सिक्ने र काम गर्ने अवसर मेन्टरशिपमार्फत उपलब्ध गराइएको छ।
लगानी जुटाउन सहयोग गर्न ‘पिचिङ’ कार्यक्रम, लगानीकर्ता र उद्यमीबीच भेटघाट तथा सहकार्यका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिएको छ। यसका कारण धेरै स्टार्टअपहरूले सुरुको चरणमै लगानी प्राप्त गर्न सफल भएको फाउन्डेसनको भनाइ छ। सूचना प्रविधि, कृषि, स्वास्थ्य, शिक्षा र डिजिटल सेवाजस्ता विभिन्न क्षेत्रमा काम गर्ने स्टार्टअपहरूलाई प्राथमिकता दिइएको छ। फाउन्डेसनले नेपालमा स्टार्टअप क्षेत्र विस्तार हुँदै गएको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र लगानीकर्ताबीचको सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिएको छ। आगामी दिनमा अझ धेरै स्टार्टअपहरूलाई समेट्दै रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान दिने लक्ष्य रहेको पनि जनाएको छ।