काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठमेलस्थित त्रिदेवी मन्दिर परिसरमा निर्माण गरिएको अनाधिकृत संरचना भत्काएको छ ।
आज काठमाडौँ महानगरपालिका–२७ अन्तर्गत पर्ने उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिका को नगर प्रहरीले डोजर प्रयोग गरी अवैध संरचना हटाएको हो । महानगरका अनुसार सार्वजनिक स्थल तथा धार्मिक सम्पदाको संरक्षण र अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यसहित उक्त कारबाही गरिएको हो । अनाधिकृत रूपमा निर्माण गरिएको संरचनाले मन्दिर क्षेत्रको सौन्दर्य र व्यवस्थापनमा असर पारेको भन्दै हटाइएको बताइएको छ । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार नगर प्रहरीको उपस्थितिमा बिहानैदेखि डोजर परिचालन गरी संरचना भत्काइएको थियो । यस क्रममा सुरक्षा व्यवस्थासमेत कडा बनाइएको थियो । महानगरले सार्वजनिक स्थानमा अनाधिकृत निर्माण नगर्न सबैलाई आग्रह गर्दै यस्ता गतिविधि देखिएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।