काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुई महत्वपूर्ण ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव दिन आह्वान गरेको छ।
मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधनका लागि तयार गरिएको विधेयकको मस्यौदामा सरोकारवालाबाट राय, सुझाव र प्रतिक्रिया माग गरेको हो। कानुनलाई अझ प्रभावकारी बनाउन विभिन्न नयाँ प्रावधान समावेश गरिएको उल्लेख गर्दै मन्त्रालयले इच्छुक सबैलाई सात दिनभित्र सुझाव पठाउन आग्रह गरेको छ। मस्यौदा सार्वजनिक गरी सहभागीता बढाउने र समावेशी कानुन निर्माण गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।