काठमडौँ । नेपालमा बर्डफ्लु संक्रमण तीव्र रूपमा फैलिएको छ। सरकारी प्रतिकार्य टोली र राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणालीको पछिल्लो विवरण अनुसार हालसम्म ६ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ।
२०८२ चैत ४ गते मोरङको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट सुरु भएको संक्रमण अहिले विभिन्न प्रमुख पोल्ट्री क्षेत्रसम्म फैलिएको छ। यस आर्थिक वर्षमा मात्र ३३ वटा पोल्ट्री फार्ममा बर्डफ्लु देखिएको जनाइएको छ। संक्रमण नियन्त्रणका लागि सरकारले हालसम्म १ लाख ३० हजार ९१२ पंक्षी नष्ट गरेको छ। साथै, २ लाख ३७ हजार ५६२ अण्डा र ३३ हजार ४४५ केजी दाना समेत सुरक्षित रूपमा नष्ट गरिएको छ।
जिल्लागत विवरण अनुसार सुनसरी सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ, जहाँ १७ वटा फार्ममा संक्रमण देखिएको छ। मोरङमा १० फार्मका ५३ हजारभन्दा बढी पंक्षी नष्ट गरिएको छ। त्यस्तै चितवन, झापा, बारा र नवलपरासी (पश्चिम) मा पनि संक्रमण फैलिएको छ। चितवनमा १८ हजारभन्दा बढी, झापामा १५ हजारभन्दा बढी, बारामा २ हजारभन्दा बढी र नवलपरासीमा केही सय पंक्षी नष्ट गरिएको छ। सरकारले संक्रमित क्षेत्र सिल गर्ने, सुरक्षाकर्मी परिचालन गर्ने र रोग फैलिन नदिन कडाइका साथ नियन्त्रणका उपाय अपनाइरहेको जनाएको छ।