काठमाडौँ । हुम्ला र कालिकोटबाट जटिल अवस्थामा रहेका दुई सुत्केरी महिलाको हवाई उद्धार गरी सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको छ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ की ४५ वर्षीया सरिला शाहीलाई घरमै सुत्केरी हुने क्रममा साल अड्किएर अत्यधिक रक्तस्राव भएपछि अवस्था गम्भीर बनेको थियो। उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको हो। त्यस्तै, कालिकोटको पलाँता गाउँपालिका–थिर्पूकी २२ वर्षीया अप्सरा शाहीलाई पनि जटिल स्वास्थ्य अवस्थाका कारण हवाई उद्धार गरिएको छ।
शनिबार साँझ सुत्केरी व्यथा लागेपछि उनलाई जिल्ला अस्पताल मान्म लगिएको भए पनि अवस्था बिग्रिएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो। स्वास्थ्यकर्मीका अनुसार अप्सराको गर्भमा रहेको शिशुको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ भने अत्यधिक रक्तस्रावका कारण आइसियु सेवा आवश्यक भएको बताइएको छ। दुवै महिलाको उद्धार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत गरिएको हो।