काठमाडौँ । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।
बाँकेको कोहलपुरबाट राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश बीएए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ तुलापुरमा पैदल हिँडिरहेका व्यक्तिहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब ७ वर्षीय नाति रिहान्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरू योग शिविरमा सहभागी हुन जाँदै गर्दा तीव्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको थियो। मृतक लामिछाने योग प्रशिक्षकसमेत रहेको जनाइएको छ। दुर्घटनामा लामिछानेकी पत्नी ५० वर्षीया सीता लामिछाने र स्थानीय ६५ वर्षीय सूर्य उपाध्याय घाइते भएका छन्। दुवै जनाको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ। घटनापछि एम्बुलेन्ससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताएका छन्।