काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिनहरूमा समेत स्वास्थ्य सेवा निरन्तर सञ्चालनमा राख्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचनापछि शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएसँगै मन्त्रालयले सेवा प्रभावित नहुने गरी आवश्यक व्यवस्थापन गर्न आग्रह गरेको हो।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार अस्पतालहरूले आफ्नो कार्यभार र उपलब्ध जनशक्तिको आधारमा आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेछ।
कर्मचारी व्यवस्थापनतर्फ हप्तामा दुई दिन बिदा दिने व्यवस्था गरिनेछ, जसमा शनिबार बाहेक अर्को एक दिन बिदा दिनुपर्ने उल्लेख छ। यदि त्यसो गर्न नसकिएमा सट्टा बिदा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। यसैगरी, यही प्रावधान प्रादेशिक अस्पतालहरूमा समेत लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई निर्देशन दिइएको छ। मन्त्रालयले सेवा प्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले अस्पतालहरूलाई लचिलो ढंगले व्यवस्थापन गर्न आग्रह गरेको छ।
