काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले स्वस्थ नेपाल निर्माण गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताएकी छन्। उनले संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार रहेको स्पष्ट पारिन्।
विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले स्वास्थ्य सेवा मात्र नभई स्वच्छ वातावरण, खाद्य सुरक्षा र उपभोक्ता अधिकारजस्ता विषय पनि नागरिकको समग्र स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको बताइन्। उनले स्वास्थ्यसँग जोडिएका विभिन्न संवैधानिक अधिकारहरूको कार्यान्वयनमार्फत मात्रै स्वस्थ समाज निर्माण सम्भव हुने धारणा व्यक्त गरिन्। “स्वच्छ वातावरण, खाद्य सुरक्षा र उपभोक्ता अधिकारजस्ता विषय पनि उत्तिकै महत्वपूर्ण छन्,” उनले भनिन्।
यस वर्षको नारा ‘मानव, पशुपन्छी र वातावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ लाई उल्लेख गर्दै उनले स्वास्थ्यका विभिन्न आयामबीचको अन्तरसम्बन्धलाई बुझ्न आवश्यक रहेको बताइन्। मन्त्री मेहताले नयाँ प्रकारका स्वास्थ्य चुनौतीहरूको सामना गर्न सरकारी निकाय तथा सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिइन्। उनले नेपाल सरकारले सन् २०१९ मै ‘राष्ट्रिय एक स्वास्थ्य नीति’ स्वीकृत गरिसकेको जानकारी दिँदै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने बताइन्। आगामी दिनमा विशेषगरी नसर्ने रोगहरूको नियन्त्रणका लागि विभिन्न निकायबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइने मन्त्री मेहताले उल्लेख गरिन्।