काठमाडौं । पहुँचको भरमा सुगमका अस्पतालमा काज मिलाएर बसेका विशेषज्ञ चिकित्सकहरू अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले देशभरको स्वास्थ्य सेवालाई सन्तुलित बनाउन र दुर्गममा विशेषज्ञको अभाव टार्न कडाइ गरेसँगै पहिलो चरणमा १४ जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाइएको छ।
दुर्गम जिल्लाका अस्पतालमा विशेषज्ञ सेवाको उपलब्धता सुनिश्चित गर्न, लामो समयदेखि शक्तिको आडमा सुगम रोज्ने प्रवृत्तिलाई अन्त्य गर्न र आम सर्वसाधारणले आफ्नै क्षेत्रमा विशेषज्ञ उपचार पाउने वातावरण निर्माण गर्न यो कदम चालिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले पहिलो चरणमा डडेल्धुरा, वीरगंज र सप्तरीका अस्पतालहरूलाई प्राथमिकतामा राखेर काज फिर्ताको निर्णय गरेको छ।डडेल्धुरा अस्पतालमा ४,नारायणी अस्पताल वीरगंजमा ५ जना र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा ५ जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन्।
