काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सर्भाइकल क्यान्सरबारे सचेतना फैलाउन र समयमै परीक्षण गराउन आवश्यक रहेको बताएकी छन्।
सोमबार आयोजित स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ कार्यक्रममा बोल्दै डंगोलले विश्वभर धेरै महिलामा सर्भाइकल क्यान्सर देखिने गरेको र हरेक दिन महिलाहरूको ज्यान जाने जोखिम रहेको उल्लेख गरिन्। उनले भनिन्,क्यान्सर तत्काल मृत्यु हुने रोग होइन। समयमै पत्ता लागेमा उपचार प्रभावकारी हुन्छ। त्यसैले नियमित परीक्षण अत्यन्त जरुरी छ। डंगोलले कतिपय महिलाले सचेतनाको अभाव, डर वा लाजका कारण परीक्षण नगर्ने प्रचलन रहेको पनि औँल्याइन्। उनले भनिन्, “समयमै पत्ता लागे उपचार सम्भव छ। तर धेरैले डर, लाज वा जानकारीको कमीका कारण परीक्षण गराउँदैनन्। अब यसलाई तोड्नुपर्छ। कार्यक्रममा सहभागी महिलालाई नियमित स्वास्थ्य परीक्षण गराउन र सर्भाइकल क्यान्सरको जोखिमबाट जोगिन आग्रह गरिएको थियो।