काठमाडौँ। बैतडीका पाटन र सुर्नया गाउँपालिकामा ग्रामीण महिलालाई प्रजनन स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार सोमबार सिलङ्गा स्वास्थ्यचौकी र मङ्गलबार भूमेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने छ।
शिविरमा पाठेघर खस्ने समस्या जाँच, उपचार र परामर्श, पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ, प्रसूति फिस्टुला जाँच, तल्लो पेट दुखाइ, सेतो पानी बग्ने समस्याको उपचार, परिवार नियोजन इम्प्लान्ट र महिलाका लागि निःशुल्क अल्ट्रासाउण्ड सेवा उपलब्ध हुनेछ। सुर्नया गाउँपालिकामा आइतबारदेखि नै शिविर सञ्चालन भएको छ। आगामी दिनहरूमा शिखरपुर, शङ्करपुर, रौलेश्वर र भौनेली स्वास्थ्यचौकीमा पनि शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिएका छन्।