लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ । पश्चिम नेपालकै सबैभन्दा धेरै बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस अस्पतालको ११६औँ स्थापना दिवसमा एमआरआई सेवा सुरुआत गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक लगानीमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको हो । सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिएको छ । एमआरआई सेवाको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन् ।
उनले लुम्बिनी प्रादेशिक अस्पतालका सेवा थप प्रभावकारी बनाउन प्रतिष्ठानका रूपमा विकास गर्ने गरी पहल भइरहेको बताए । विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएको उनले स्पष्ट पारे ।
मुख्यमन्त्री आचार्यले प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए । उनले नमूना अस्पतालका रूपमा विकास गर्ने गरी प्रदेश सरकारले काम अघि बढाएको जानकारी दिए । प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सस्तो र सुलभ गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए ।एमआरआई मेसिन जडान भएपछि सेवाग्राहीले अब सस्तो र सुलभ ढङ्गले सेवा लिन पाउने उनले विश्वास व्यक्त गरे ।