काठमाडौँ । दादुराबाट प्रभावित ढोरपाटन क्षेत्रमा नियन्त्रणका उपायस्वरूप व्यापक खोप अभियान सञ्चालन गरिएको छ। फागुनको पहिलो सातादेखि फैलिएको संक्रमण अझै पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको अवस्थामा ३० जना बिरामी आइसोलेसनमा उपचाररत छन्।
हालसम्म ११३ जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको छ। तीमध्ये २१ जनाको नमूना परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो, जसमा सात जनामा संक्रमण पुष्टि भएको छ। शंकास्पद बिरामीमध्ये ७३ जना अस्पताल भर्ना गरिएका थिए। उपचारपछि ४३ जना घर फर्किसकेका छन् भने बाँकी बिरामीको उपचार जारी रहेको जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिए। संक्रमण नियन्त्रणका लागि खोप अभियानसँगै सचेतनामूलक कार्यक्रम, विद्यालय बन्द गर्ने लगायतका कदम चालिएका छन्। खोप लगाएको पाँचदेखि सात दिनपछि संक्रमणको दर घट्ने अपेक्षा गरिएको छ। खोप सुपरभाइजर राजु खत्रीका अनुसार हालसम्म ५ हजार ७६७ जनालाई दादुराविरुद्धको खोप दिइएको छ।
खोपबाट छुटेका व्यक्तिहरूको खोजीमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि समेत सक्रिय रहेका छन्। ढोरपाटन नगरपालिकाका सबै नौ वटै वडामा खोप अभियान सञ्चालन गरिए पनि वडा नम्बर ७, ८ र ९ अन्तर्गत बोबाङ, सेराबाङ र लाकुरीबोट क्षेत्रमा संक्रमण बढी देखिएको छ।६ हजार ७६३ बालबालिका तथा किशोर–किशोरीलाई खोप लगाउने लक्ष्य लिइएकोमा अधिकांशलाई खोप दिइसकिएको छ। साथै, १० देखि १९ वर्ष उमेर समूहका किशोर–किशोरी र उपचारमा खटिएका २३७ स्वास्थ्यकर्मीलाई पनि खोप प्रदान गरिएको छ। हाल बुर्तिबाङ अस्पतालमा २४ र बोबाङ स्वास्थ्यचौकीमा ६ जना बिरामी उपचाररत छन्। प्रभावितमध्ये ६ महिनादेखि ४८ वर्षसम्मका व्यक्तिहरू, गर्भवती तथा स्तनपान गराइरहेका महिलासमेत रहेका छन्। फागुन ८ गते पहिलो पटक एक जनामा संक्रमण पुष्टि भएपछि फैलिएको दादुरा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरू निरन्तर खटिएका छन्।