काठमाडौँ । सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पतालमा पछिल्लो समय बिरामीहरूको संख्यामा वृद्धि भएको छ। अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै गर्मी मौसमको सुरुवात र बढ्दो वातावरणीय प्रदूषणका कारण स्वास्थ्य जोखिम बढेको जनाएको छ।
वातावरणीय प्रदूषणका कारण गर्भवती महिला, नवजात शिशु, ज्येष्ठ नागरिक र दीर्घ रोगीहरूलाई यो अझ बढी असर गर्न सक्ने भएकाले सतर्क रहन अस्पतालल आग्रह गरेको हो ।
अस्पतालको तथ्याङ्क अनुसार दैनिक ओ.पी.डी. मा १८ सय जना र इमर्जेन्सीमा १२० जना सम्म बिरामीहरू उपचारका लागि आइरहेको अस्पतालले जनाएको छ । गर्मी र प्रदूषणका कारण हाल बिरामीहरूमा आँखा दुख्ने, मुटु तथा मिर्गौलासँग सम्बन्धित समस्याहरू बढी देखिएको अस्पतालले जनाएको छ ।
अस्पतालले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र स्वास्थ्यको विशेष ख्याल राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ। गर्मीबाट बच्न सतर्कता अपनाउन र स्वास्थ्यमा समस्या देखिए तुरुन्त चिकित्सकसँग परामर्श लिन समेत सुझाव दिइएको छ।
