काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको बताएकी छन्। मन्त्री गौतमले औषधि व्यवस्था विभागलाई थप सशक्त बनाउन आवश्यक रहेको र विभागलाई कम्तीमा लेवल ३ वा ४ मा स्तरोन्नति गर्नुपर्ने औंल्याएकी छन्।
उनले औषधि उद्योग र आयुर्वेदिक अनुसन्धान सुदृढ बनाउँदै नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने आवश्यकता औँल्याइन्। हिमाली क्षेत्रमा पाइने जडीबुटी स्रोत र जुम्लास्थित मेडिकल कलेज तथा अनुसन्धान संस्थानलाई केन्द्र बनाएर आयुर्वेदिक अनुसन्धानलाई तीव्रता दिनुपर्ने उनको भनाइ थियो।
मन्त्रीका अनुसार हाल अधिकांश औषधि उद्योग र प्रयोगशालाहरू बारा, पर्सा र गण्डकी प्रदेशमा केन्द्रित छन्। उनले आयुर्वेदिक औषधि उत्पादनलाई पश्चिम, सुदूरपश्चिम र कर्णाली प्रदेशमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन्। डा. गौतमले नेपालमै आधुनिक र आयुर्वेदिक दुवै प्रकारका औषधि उत्पादनलाई विस्तार गर्ने दीर्घकालीन योजना रहेको उल्लेख गर्दै, भविष्यमा देशलाई औषधिमा पूर्ण रूपमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताइन्।