काठमाडौँ । मकवानपुरको कैलाश गाउँपालिकामा १० शैयाको वी.पी स्मृति कैलाश आधारभूत अस्पताल स्थापना भई सेवा सुरु भएकोमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यसलाई लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
गाउँपालिका ९औँ स्थापना दिवसको अवसरमा आयोजित उद्घाटन समारोहमा बोल्दै उनले अब रगत, पिसाब, आँखा परीक्षण, हाडजोर्नी र सामान्य स्वास्थ्य सेवा स्थानीय स्तरमै उपलब्ध हुने भएकाले कैलाशवासीलाई सहज हुने बताए। उनले जनप्रतिनिधिले जनताको कुरा सुन्दै र स्थानीय स्तरमै रहँदै काम गर्नुपर्नेमा जोड दिए। भौगोलिक रूपमा विकट भए पनि कैलाश गाउँपालिका सडक सञ्जाल, शिक्षा र स्वास्थ्य सुधारसँगै क्रमशः विकासतर्फ अघि बढिरहेको उनले बताए। प्राकृतिक सौन्दर्य र धार्मिक पर्यटन सम्भावनालाई व्यवस्थित विकास गर्नुपर्ने पनि उनको भनाइ थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले गाउँमै अस्पताल सञ्चालन भएसँगै सेवा लिन स्थानीयलाई आग्रह गरे भने गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले संघीय शासन कार्यान्वयनसँगै स्थानीय सरकारको महत्वपूर्ण आधारका रूपमा गाउँपालिका स्थापना भएको बताए। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले चिकित्सक व्यवस्था गरी सेवा विस्तार गर्न आवश्यक रहेको बताए। समारोहमा लोकगायिका प्रतिमा अर्यालको सांगीतिक प्रस्तुति र कर्मचारी, विद्यार्थी, शिक्षक, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति रहेको थियो।