काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
आयोगका अनुसार निर्वाचन कार्यतालिका अनुसार व्यवस्थापकीय तयारी भइरहेका छन्। मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई आवश्यक सहयोगका लागि आग्रह गरिएको छ। साथै आपतकालीन उपचार सेवा सुनिश्चित गर्न देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र आवश्यक औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको छ।
निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले विभिन्न निकायसँग समन्वय गरिरहेको जनाएको छ। मतदाताको सहभागिता सहज बनाउन मतदानको दिनअघि र पछि गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरिसकेको छ।
मतदान प्रक्रिया व्यवस्थित गर्न मतदान केन्द्र रहेका शिक्षण संस्था, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत सरकारी संरचना र तिनमा रहेका भौतिक सम्पत्ति फागुन १९ देखि २१ गतेसम्म उपयोग गर्न व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र स्थानीय तहसँग समन्वय गरिएको आयोगले जनाएको छ। आयोगले आवश्यक सहयोग उपलब्ध गराउन संघीय, प्रदेश र स्थानीय सरकार तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ।