काठमाडौं । नेपाल चिकित्सक संघले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया नेपालमै सम्भव रहेको जनाएको छ।
संघले प्रेस विज्ञप्ति जारी गर्दै साम्बाले कतारमा उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै सहयोग अपिल गरेको विषयप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा नेपालका विभिन्न अस्पतालहरूमा आवश्यक विशेषज्ञ चिकित्सक, आधुनिक स्वास्थ्य उपकरण तथा शल्यक्रियाका लागि आवश्यक पूर्वाधार पर्याप्त मात्रामा उपलब्ध रहेको उल्लेख गरिएको छ। संघका अनुसार यस्ता जटिल शल्यक्रियासहित अन्य उपचार सेवाहरू नेपालमै गुणस्तरीय रूपमा प्रदान गर्न सकिने अवस्था रहेको छ।
गरिब नागरिकका लागि विनियोजित स्वास्थ्यसम्बन्धी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न र स्वदेशी चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई बेवास्ता नगर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौं संघद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।
