काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वास्थ्यकर्मीलाई नखटाउन निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निर्वाचनको समयमा हुन सक्ने सम्भावित दुर्घटना तथा आकस्मिक घटनालाई ध्यानमा राख्दै यस्तो आग्रह गरिएको जानकारी दिए।
मन्त्रालयले निर्वाचन अवधिभर देशभरका स्वास्थ्य संस्था र जनशक्तिलाई उच्च सतर्कतामा राख्ने तयारी गरेको जनाएको छ। आपत्कालीन सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले स्वास्थ्यकर्मीलाई आफ्नो कार्यस्थलमै तयारी अवस्थामा रहन निर्देशनसमेत दिइएको छ।
निर्वाचनजस्तो संवेदनशील समयमा आकस्मिक स्वास्थ्य सेवा प्रभावकारी बनाइराख्न मन्त्रालयले समन्वयात्मक कदम चालेको जनाएको छ।