काठमाडौँ । मानव शरीर पृथ्वी, जल, अग्नि, वायु र आकाश गरी पाँच तत्वबाट बनेको मानिन्छ। पूर्वीय दर्शनअनुसार यी तत्व सन्तुलनमा रहे शरीर स्वस्थ, चुस्त र दीर्घायु रहने विश्वास छ। तत्व असन्तुलित हुँदा विभिन्न शारीरिक तथा मानसिक समस्या देखिन सक्ने बताइन्छ।
पृथ्वी तत्व अन्न, दाल, चामललगायतका खाद्य पदार्थबाट प्राप्त हुन्छ। यसले शरीरलाई बलियो बनाउने काम गर्छ। तर यसको पाचनका लागि बढी ऊर्जा आवश्यक पर्ने भएकाले अत्यधिक सेवन गर्दा शरीरमा विकार उत्पन्न हुन सक्ने जानकारहरू बताउँछन्। जल तत्व पानी तथा सागसब्जी र तरकारीबाट प्राप्त हुन्छ। लौका, फर्सी, बन्दा, काउलीजस्ता जमिनमाथि फल्ने तरकारी र आलु, गाजर, मूलाजस्ता जमिनमुनि उब्जने खाद्य पदार्थ यसका स्रोत हुन्। जल तत्वले शरीरमा तरलता कायम राख्न सहयोग पुर्याउँछ।
अग्नि तत्व मुख्य रूपमा फलफूलमा पाइन्छ। सूर्यको तापले पाकेका फलमा मिठास र रङ विकसित हुन्छ। रसदार फलमा पानीको मात्रा बढी हुने तथा गुदायुक्त फलमा पोषक तत्व बढी पाइने उल्लेख गरिएको छ। वायु तत्व पातयुक्त सागसब्जी तथा श्वास–प्रश्वासमार्फत प्राप्त हुन्छ। नियमित प्राणायाम, व्यायाम र शुद्ध हावामा बस्नुलाई यसको सन्तुलनका लागि लाभदायी मानिन्छ। आकाश तत्व प्रत्यक्ष रूपमा सेवन गर्न सकिँदैन। उपवास र ध्यानमार्फत यसको सन्तुलन बढाउन सकिने विश्वास छ। दर्शनशास्त्रमा आकाश तत्वलाई अन्य चार तत्वको आधारका रूपमा व्याख्या गरिएको छ।
स्वास्थ्य अभ्यासकर्ताहरूका अनुसार पाँच तत्व सन्तुलित राख्न सूर्योदयअघि उठ्ने, खाली पेट पानी पिउने, नियमित व्यायाम गर्ने, समयमै भोजन गर्ने, अंकुरित गेडागुडी तथा सागसब्जीको सेवन बढाउने र समय–समयमा उपवास गर्ने बानी उपयोगी हुन सक्छ। योगशास्त्रमा पेटलाई रोगको मूल स्थान मानिएको छ। त्यसैले पाचन प्रणालीलाई सुदृढ राख्न आहार व्यवस्थापन आवश्यक ठानिएको छ। यद्यपि, दीर्घरोग वा गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहबिना आहारमा ठूलो परिवर्तन वा उपवास गर्नु उपयुक्त नहुने विज्ञहरूको सुझाव छ।