काठमाडौँ । गर्मी मौसममा नियमित रूपमा शारीरिक गतिविधि कायम राख्नु चुनौतीपूर्ण हुन सक्छ। अत्यधिक तापक्रमका कारण व्यायाम गर्न गाह्रो हुने मात्र होइन, यसले दीर्घकालीन स्वास्थ्यमा समेत असर पार्न सक्ने भन्दै वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
सन् २०२६ को फिफा विश्वकपका क्रममा अमेरिका, क्यानडा र मेक्सिकोमा खेलाडीहरूलाई अत्यधिक गर्मीका कारण प्रत्येक हाफको २२औँ मिनेटमा अतिरिक्त पानी पिउने विश्राम ९हाइड्रेसन ब्रेक० दिइएको थियो। जलवायु परिवर्तन र एल–निनोको प्रभावका कारण विश्वका धेरै स्थानमा तापक्रम बढ्दै गइरहेको अवस्थामा सुरक्षित रूपमा व्यायाम गर्ने उपाय अपनाउनु आवश्यक भएको विज्ञहरूको भनाइ छ।
aगर्मीमा किन छिट्टै थकाइ लाग्छ ?
व्यायाम गर्दा मांसपेशीले धेरै ऊर्जा प्रयोग गर्ने भएकाले शरीरको तापक्रम बढ्छ। शरीरले पसिना निकालेर र छालातर्फ बढी रगत पठाएर आफूलाई चिसो राख्ने प्रयास गर्छ। तर यही प्रक्रियाले मांसपेशीमा पुग्ने अक्सिजनको मात्रा घट्न सक्छ। अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयका अनुसन्धानकर्ता ओली जेका अनुसार छालातर्फ बढी रगत जान थालेपछि मांसपेशीले पर्याप्त अक्सिजन पाउन सक्दैनन्। यसले छिट्टै थकान महसुस गराउँछ र मुटुमाथि अतिरिक्त दबाब पनि पर्न सक्छ।
व्यायाम गर्ने उपयुक्त समय रोज्नुहोस्
विशेषज्ञहरूका अनुसार बिहान सबेरै वा साँझ तापक्रम कम भएका बेला व्यायाम गर्नु सबैभन्दा सुरक्षित विकल्प हो। सम्भव भएसम्म घामको सिधा किरणभन्दा छायाँ भएको स्थानमा व्यायाम गर्नुपर्छ। खुला घामको तुलनामा छायाँमा तापक्रम १२ देखि १५ डिग्री सेल्सियससम्म कम हुन सक्छ।
आर्द्रता पनि महत्त्वपूर्ण
तापक्रमसँगै हावामा भएको आर्द्रताले पनि शरीरलाई असर गर्छ। धेरै आर्द्रता हुँदा पसिना सजिलै सुक्दैन, जसका कारण शरीर चिसिन सक्दैन। साथै हावाको बहाव कम भएका बन्द स्थानमा व्यायाम गर्दा शरीरमा तापको असर अझ बढी हुन सक्छ।
समय र तीव्रता घटाउनुहोस्
अत्यधिक गर्मी भएका दिनमा लामो समय वा धेरै कडा व्यायाम गर्नु उपयुक्त हुँदैन। छोटो समय व्यायाम गर्ने, बीच–बीचमा विश्राम लिने वा हल्का शारीरिक गतिविधिमा सीमित रहने सुझाव दिइएको छ।
शरीरलाई प्रभावकारी रूपमा चिसो बनाउनुहोस्
व्यायामपछि वा विश्रामका बेला चिसो वातावरणमा बस्ने, पंखा वा वातानुकूलित कोठाको प्रयोग गर्ने, शरीरमा चिसो पानी हाल्ने वा हात र पाखुरा चिसो पानीमा डुबाउने उपाय प्रभावकारी मानिन्छ। यसले शरीरको तापक्रम घटाउन मद्दत गर्छ। चिसो भिजेको तौलियाले हात, खुट्टा र शरीर पुछ्दा पनि शरीर चिसो रहन सहयोग पुग्छ।
व्यायामअघि नै शरीर चिसो बनाउने
व्यायाम सुरु गर्नुअघि चिसो पानी वा बरफ मिसिएको पेय पदार्थ सेवन गर्दा शरीरको तापक्रम केही कम हुन्छ। यसले गर्मीको असर सहन शरीरलाई थप समय मिल्ने अनुसन्धानले देखाएको छ।
बिस्तारै गर्मीमा अभ्यस्त बनाउनुहोस्
लगातार ७ देखि १४ दिनसम्म क्रमिक रूपमा गर्मीमा व्यायाम गर्दा शरीर त्यस वातावरणमा अभ्यस्त हुन थाल्छ। यस प्रक्रियालाई हीट एक्लिमेटाइजेसन भनिन्छ। यसपछि शरीरले बढी पसिना निकाल्ने, रगतको मात्रा बढाउने तथा तापक्रम राम्रोसँग नियन्त्रण गर्ने क्षमता विकास गर्छ। तर यो अनुकूलन स्थायी हुँदैन। लामो समयसम्म गर्मीमा शारीरिक गतिविधि नगरेमा शरीर फेरि पुरानै अवस्थामा फर्कन सक्छ।
शरीरका संकेत बेवास्ता नगर्नुहोस्
विशेषज्ञहरूका अनुसार चक्कर लाग्ने, वाकवाकी हुने, अत्यधिक थकान महसुस हुने, मुटुको धड्कन असामान्य रूपमा बढ्ने वा कमजोरी अनुभव भएमा तत्काल व्यायाम रोक्नुपर्छ र शरीरलाई चिसो बनाउने उपाय अपनाउनुपर्छ। नियमित व्यायाम गर्ने व्यक्तिहरू पनि गर्मीको जोखिमबाट पूर्ण रूपमा सुरक्षित हुँदैनन्। विशेषगरी उच्च तीव्रतामा अभ्यास गर्ने खेलाडीहरूमा हीटस्ट्रोकको जोखिम अझ बढी हुन सक्छ।
जलवायु परिवर्तनसँगै जीवनशैली पनि बदल्नुपर्ने
अनुसन्धानकर्ताहरूका अनुसार जलवायु परिवर्तनका कारण बढ्दो गर्मीले मानिसहरूको दैनिक शारीरिक गतिविधिमा असर पार्न सक्छ। यदि गर्मीका कारण मानिसहरूले व्यायाम गर्न छाडे भने सन् २०५० सम्म प्रत्येक वर्ष विश्वभर करिब ४ लाख ७० हजारदेखि ७ लाख समयअघि हुने मृत्युको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ। विशेषज्ञहरूको निष्कर्ष छ—गर्मी बढ्दै गए पनि व्यायाम पूर्ण रूपमा बन्द गर्नु आवश्यक छैन। बरु समय, स्थान र अभ्यासको तीव्रता परिवर्तन गर्दै, शरीरका संकेतलाई ध्यान दिएर सुरक्षित रूपमा सक्रिय रहन सकिन्छ।