काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी प्रतिनिधिहरूको परिचयपत्रमा आफ्नै तस्बिरको सट्टा पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखिएपछि केही प्रतिनिधिले असन्तुष्टि जनाएका छन्।
काठमाडौंको कार्की ब्याङ्क्वेटमा आजदेखि सुरु भएको दुईदिने राष्ट्रिय भेलाका लागि तयार पारिएका परिचयपत्रमा प्रतिनिधिहरूको नाम मात्र उल्लेख गरिएको छ। तर, तस्बिरका रूपमा अध्यक्ष ओलीको सेतो कपडा लगाएको तस्बिर राखिएको छ।परिचयपत्रमा सबै प्रतिनिधिको सट्टा अध्यक्षकै तस्बिर राखिनु र त्यसमा पनि बरखी बारेको अवस्थाको तस्बिर प्रयोग गरिनुले गलत सन्देश जाने केही प्रतिनिधिको भनाइ छ। उनीहरूले अध्यक्षको तस्बिर नै राख्नुपर्ने भए अन्य तस्बिर प्रयोग गर्न सकिने धारणा राखेका छन्।
भेलामा करिब तीन हजार पाँच सय प्रतिनिधि सहभागी हुने बताइएको छ। कार्यक्रममा अध्यक्ष ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल तथा महासचिव शङ्कर पोखरेलले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर आयोजना गरिएको भेलाबाट पार्टी एकताबद्ध रहेको सन्देश दिने एमाले नेताहरूको भनाइ छ।