काठमाडौँ । गर्भावस्थामा माछाको तेल सेवन गर्दा त्यसबाट जन्मिएका बालबालिकाको मस्तिष्कको कार्यप्रणालीमा करिब १० वर्षपछि पनि सूक्ष्म परिवर्तन देखिन सक्ने एक नयाँ अध्ययनले देखाएको छ।
‘ट्रान्सलेशनल साइकियाट्री’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशनका लागि स्वीकृत अध्ययनअनुसार गर्भावस्थाको २४औँ सातादेखि सुत्केरी भएको एक सातासम्म माछाको तेल सेवन गरेका आमाका सन्तानमा १० वर्षको उमेरमा मस्तिष्कमा हुने रक्तसञ्चार र अक्सिजनको उपयोगमा सामान्यभन्दा केही कमी देखिएको हो। यो अनुसन्धान डेनमार्कमा सञ्चालन गरिएको कोपेनहेगन बाल्यकाल दमसम्बन्धी दीर्घकालीन अध्ययन अन्तर्गत ७०० आमा–शिशु जोडीमा गरिएको थियो। १० वर्षपछि ४८७ बालबालिकाको एमआरआई परीक्षण गरिएकामा ४६० जनाको तथ्यांक विश्लेषण गरिएको थियो। अध्ययनका क्रममा गर्भवती महिलालाई दैनिक २.४ ग्राम माछाको तेल, जसमा ५५ प्रतिशत इकोसापेन्टाइनोइक एसिड र ३७ प्रतिशत डोकोसाहेक्साइनोइक एसिड समावेश थियो, दिइएको थियो। अर्को समूहलाई भने जैतुनको तेल (ओलिभ आयल) दिइएको थियो।
त्यसपछि बालबालिकाको मस्तिष्कमा हुने रक्तसञ्चार, अक्सिजनको उपयोग तथा ल्याक्टेटको मात्रा एमआरआईमार्फत मापन गरिएको थियो।विश्लेषणअनुसार माछाको तेल सेवन गरेका आमाका बालबालिकामा मस्तिष्कमा हुने रक्तसञ्चार र अक्सिजनको उपयोगमा सांख्यिकीय रूपमा सामान्य कमी देखिए पनि मस्तिष्कमा रहेको ल्याक्टेटको मात्रामा कुनै उल्लेखनीय परिवर्तन भेटिएन। यस्तै, अध्ययनले मस्तिष्कमा देखिएका यी परिवर्तन र बालबालिकाको बौद्धिक क्षमता, सिकाइ, व्यवहार, ध्यान अभाव तथा अति सक्रियता (एडीएचडी) वा अटिजमजस्ता अवस्थाबीच कुनै स्पष्ट सम्बन्ध फेला नपरेको जनाएको छ। अनुसन्धानकर्ताहरूका अनुसार माछाको तेल सेवन गरेका आमाका बालबालिकाको मस्तिष्कको कार्यप्रणाली केही हदसम्म वयस्कको जस्तै देखिए पनि यसले मस्तिष्क छिटो परिपक्व भएको वा प्रत्यक्ष स्वास्थ्य लाभ पुगेको भन्ने पुष्टि गर्दैन। त्यसैले गर्भावस्थामा माछाको तेल सेवनको दीर्घकालीन प्रभावबारे थप अनुसन्धान आवश्यक रहेको अध्ययनले निष्कर्ष निकालेको छ।